|
साक्षरता अभियानको औचित्य
February 15, 2010
यो अभियानमा २६ लाखलाई साक्षर बनाउने भनिए पनि यथार्थमा १८ लाखको हाराहारीमा साक्षर भएको सरकारी तथ्यांक छ । कास्की जिल्लामा पनि साक्षरता अभियान सुरु गरिएको छ र अभियान अर्न्तर्गत कास्कीका १५ हजारभन्दा बढी निरक्षरलाई साक्षर बनाउने लक्ष लिइएको छ । प्रधानमन्त्री माधब कुमार नेपालले साक्षरता अभियानको काठमाडौंमा उद्घाटन गरेका थिए भने पोखरामा क्षेत्रीय प्रशासकले अभियानको बिधिवत आरम्भ गरेका थिए । नेपालमा पुरुष साक्षरता ६५ प्रतिशत भन्दामाथि र महिला साक्षरता ४५प्रतिशतको हारााहारीमा मात्र छ । आगामी पाँच बर्षभित्रमा नेपालवाट निरक्षरता उन्मूलन गरिने महत्वाकांक्षी लक्ष सरकारले राखेको छ । यसका लागि यस बर्षमुलुकभर ४३ हजार भन्दा बढी साक्षरता कक्षा र हजारौं स्वयंसेवक परिचालन गरिने छ । मुलुकमा अझै पनि निरक्षरको संख्या झण्डै आधा करोड छ । यिनलाई साक्षर बनाउन सरकारले लक्षित बजेट मात्र खर्च गर्ने होइन , लक्ष अनुसार उपलब्धि हासिल हुने वातावरण पनि तयार गर्नु जरुरी छ । हामीले दिने तथ्यांक मिथ्यांक नबनोस् , त्यता पनि सचेत हुन आबश्यक छ । नेपालमा पुरुषको तुलनामा महिलाहरु बढी निरक्षर भएको हुँदा महिला साक्षरतालाई बिशेष जोड दिन आवश्यक छ । परिवारमा महिला साक्षर भए सिंगो परिवारलाई नै साक्षर बनाउन प्रभाबकारी भूमिका निर्वाह गर्न सक्छन् । वास्तबमा साक्षरता भनेर साँवा अक्षर चिनेरमात्र हुँदैन । युग सुहाउँदो यसलाई परिभाषित गरी साक्षरता अभियान जारी राख्नर्ुपर्छ । मुलुक लामो समयदेखि जनप्रतिनिधिबिहीन अवस्थामा भएका कारणवाट पनि यस्ता रचनात्मक अभियानले गति लिन सकिरहेको छैन । शिक्षा प्राप्त गर्नु नागरिकको अधिकार भएको हुँदा सरकारले यो कार्यक्रमलाई बर्षोनी निरन्तरता दिनु आवश्यकत छँदैछ, सबैलाई साक्षर बनाएपछि पनि थप कार्यक्रम लिएर जानु आवश्यक छ । साक्षरताका साथै सीपमूलक तालिम पनि लैजान सके जनता थप लाभान्वित हुने थिए । साक्षर बन्नु चेतनाको पहिलो ढोका उघ्रनु हो र यस कार्यमा मुलुक सफल हुन सके साक्षरतासँगै चेतनाको बिस्तार पनि संभब हुन्छ ।
« Back |
Top |