|
लगातार आगलागीको कारण खोजौं
January 22, 2010
तर नहुनु पर्ने घटना एकपछि अर्को गर्दै लगातार भैरहेको छ । पुस महिनाको अन्तिम सप्ताहमा कास्कीको घान्द्रूक गाबिसमा अन्नपर्ूण्ा आधार सिविर र माछापुछ्रे आधार सिविरमा जाने बाटोको खुल्दीघरमाथिको जंगलमा आगलागी भएर ठूलो प्राकृतिक क्षति भएको छ । त्यसको लगत्तै लमजुड.वाट सुरु भएको बन डढेलो मनाड.सम्म पुगेको थियो । कास्कीकै लुम्लेको जंगल पनि डढेलोवाट सखाप भएको छ । र पछिल्लो पटक मुस्ताड. जिल्लाको कुञ्जो गाबिस ९ को जंगलमा आगलागी भैरहेको छ । पुस माघ, त्यो पनि हिमाली भेकमा ब्यापक हिमपात हुने मौशम हो । यस्तो समयमा लगातार भैरहेको आगलागीका घटनाले स्थानीय जनता अचम्मित छन् भने यस क्षेत्रका बिज्ञहरु पनि त्यत्तिकै आर्श्चर्यचकित भएका छन् । वास्तबमा त्यस भेकमा हिमपात नभए पनि कठांग्रिदो चिसो मौशम भने सकिएको छैन । तर्राईमा भन्दा अगाडि नै आगलागीका घटनाहरु उच्च पहाडी क्षेत्रमा हुनुलाई सामान्य ढंगले लिन सकिने अवस्था छैन । पुस माघमा नै जंगल दनदनी बल्न थालेपछि चैत बैशाखका महिनामा आगलागीका कति घटनाहरु हुने हुन् , त्यसको अन्दाज गरेर सरकारले ब्यापक तयारी गर्नु आवश्यक छ । उच्चपहाडी भेकमा मात्र होइन , स्वयं हिमालमा समेत हिउँ नपरेर हिमालहरु काला चट्टान मात्र देखिन थालेका छन् । के हिमाली घाँचमा पनि हिउँ र तुषारो नपरेकै कारण सजिलै आगलागी भैरहेका हुन् त - अहिले सबै बिषयलाई जलवायु परिवर्तनका कारण भनेर सजिलै पन्छने गरिएको छ । निश्चय नै जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढेको छ तर तापक्रम यतिहदसम्म बढेको छैन कि हिमाली भेकमा आगलागीका घटनाहरुले निरन्तरता पाइरहुन् । त्यसैले आगोताप्नेहरुले फुकेकेा आगो, गोठाला जानेले बालेको आगो वा अन्य कारणवाट पनि आगलागी हुनसक्छ । सरोकारवालाहरुले यसको खोजी गर्न ढिलाई गर्नुहुन्न । जलवायु परिवर्तनलाई दोष दिएर वास्तबिकता पहिल्याउन नखोज्ने हो भने भविष्यमा नेपालको प्राकृतिक सम्पदालको ठूलो बिनाश हुनेछ ।
« Back |
Top |