Samadhan National Daily

नेपाली जनताका सामु किन गल्यो भारत ?

– गणेश पाण्डे
छिमेकी भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी हटेको बताइएको छ । अन्ततः नेपाली जनताले फेरि एकपटक जितेका छन् । छिमेकीको घरमा खुसीको दियो बलिरहँदा रिसैरिसले मुुर्मिएको अर्को छिमेकी भारतले यदि अघोषित नाकाबन्दीलाई हटाउने निर्णय गरेकै हो भने नेपालमा गुम्दै गएको उसको शाख थोरै भए पनि बचाउन बेलामै बुद्धि पु¥याएको छ ।
असोज ३ गते नेपालमा नयाँ संविधान जारी भइरहँदा विश्वजगत खुसी बन्यो । तर, आफूलाई ‘बडे भाइ’ भन्ने भारत खुसी भएन । उसले संविधान जारी भएकोमा खुसी व्यक्त गर्नु त कहाँ हो, कहाँ ? अनपेक्षित रुपमा वक्तत्वबाजी र नेपालीमाथि हेपाहा प्रवृत्ति देखायो । साँच्चै भन्ने हो भने, नयाँ संविधान नेपाली जनताको जित थियो, हजारौँ नेपालीको त्याग र बलिदानीबाट आएको संविधान नेपाली नेताको मिलनबाट सम्भव भएको थियो, जुन भारतलाई चित्त नबुझ्नु स्वभाविकै थियो । नेपाली नेताहरुलाई भिडाएर आफ्नो स्वार्थ पूर्ति गर्न उद्दत भारतलाई नेपाली शीर्ष नेताले लोप्पा खुवाइदिएका थिए । र, खुट्टा दह्रो बनाउँदै आफ्ना जनताका लागि आफ्नै खुट्टामा उभिएर नयाँ संविधान जारी गरेका थिए । तर, छिमेकी भारत र मित्र राष्ट्रको नाममा नेपालीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेका स्वार्थी तत्वहरुले भनेझैँ संविधान आएन । त्यसपछि उनकै इशारामा उनका राजनीतिक ठेकेदारहरु उफ्रनु अस्वभाविक थिएन् ।
नेपाली नेताहरुले भनिरहेका छन्, नेपालको नयाँ संविधान विश्वकै उत्कृष्ट दस्तावेज हो । यो सहमतिको दस्तावेज हो । किनकी सबै राजनीतिक दलहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गरेको भए संविधान सम्भव नै थिएन । सम्भवतः सबै दलका भावना र आन्दोलनको समर्थनमा यो संविधान आएको थियो । नेपालको संविधान उत्कृष्ट छ भन्ने तर्कमा यसकारण पनि सहमत हुन सकिन्छ कि नेपाललाई अर्ति सिकाउने भारतकै संविधान पनि ६५ प्रतिशतको मात्र सहमतिमा जारी भएको थियो । अमेरिका र विश्वका शक्तिशाली राष्ट्रकै संविधान पनि शतप्रतिशत सहमतिमा बनेका हैनन् । न त भारतले भनेझैँ जनसंख्याका आधारमा उसको देशमा प्रदेशको सिमांकन र निर्वाचन क्षेत्र बाँडफाँड भएको थियो । के भूगोलमा सानो देश भन्दैमा भारतले भनेझैँ नेपालले मान्नुपथ्र्यो ? पक्कै पनि पर्दैन । संविधान भारतीयका लागि हैन्, नेपालीका लागि बनेको हो । त्यसैले त नेपाली जनताले संविधान जारी भएकोमा खुसी मात्रै व्यक्त गरेनन्, भारतको हेपाहा प्रवृत्तिविरुद्ध डटेर लड्ने अठोट पनि देखाए ।
अघोषित रुपमा नाकाबन्दी गरेको भारत गल्नुका केही कारण छन् । पहिलो, मित्रबाट एकाएक ‘शत्रु’ बनेको भारतका विरुद्ध सामाजिक सञ्जाल यसरी भरियो । नेपाली युवा, पेशाकर्मी, बुद्धिजीविहरुले सामाजिक सञ्जालमा चलाएको अभियानबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नराम्रो धक्का पुग्यो । सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउन अति नै माहिर मोदी आफूविरुद्ध सामाजिक सञ्जालमार्फत भएको नैतिक दबाबबाट जानकार थिए ।
भारत र प्रधानमन्त्री मोदीविरोधी अभियान नेपालमा यसरी उर्लियो कि दशकौँपछि संसारभर छरिएका नेपालीहरु स्वतःस्फूर्त रुपमा एकजुट भए । नेपालका विभिन्न जिल्लामा मोदीको पुल्ला जल्यो । प्रवासी नेपालीहरुले पनि सशक्त रुपमा प्रतिवाद गरे । प्रवासी नेपालीहरुले विभिन्न कुटनीतिक नियोगमा भारतीय हस्तक्षेपको खुलेरै विरोध गरेका थिए । जसका कारण अन्तरराष्ट्रिय रुपमा समेत भारतमाथि दबाब बढ्यो ।
दोस्रो कारण हो, चीनप्रतिको नेपाली सद्भाव बढ्नु । एउटा छिमेकी रिसाउँदा अर्कोको शरण लिनु प्राकृतिक नियम नै हो । भारत विरोधी अभियान उत्कर्षमा पुगिरहँदा उत्तरतर्फको छिमेकी चीनसँग नेपालको सामिप्यता झनै बढ्यो । चीनसँगको नाका खोल्ने दबाब चर्को बन्यो भने यही मौकामा चिनियाँ चलखेल पनि राजधानीमा ह्वात्तै देखियो, जुन भारतका लागि सह्यै हुने कुरै भएन । नेपालको राजनीतिमा नांगो नाच नाच्न रमाउने भारतका लागि स्वाभिमानी नेपालीहरुले चीनप्रति सद्भाव राख्नु अर्को झड्का थियो । आफैले लगाएको अघोषित नाकाबन्दीबाट भारत पछाडि हट्न बाध्य हुनुको अर्को कारण हो यो ।
दिनहरु जति बित्दैछन्, नेपालमा भारतविरोधी भावना उति नै उच्च हुँदैछ । यसको अर्थ नेपालमा भारतीय कुटनीतिक मिसन असफल हुँदैछ । भारतलाई लाग्दो हो, नेपालीहरु २०४५ सालका झैँ छन् । तर, २७ बर्षको अवधिमा नेपालीमा प्रविधि र चेतनाको स्तर निकै नै माथि उठिसकेको छ । विकासको गति पनि उस्तै छ । आफ्ना पुर्खाले त कहिल्यै विदेशीसामु घुँडा टेकेनन् भने अहिलेको पुस्ताले अरुको हस्तक्षेप रुचाउने कुरै भएन । अहिलेको पुस्ता नेपाली भएर बाँच्नमै आफ्नो स्वाभिमान ठान्छ । बरु, दुःख पाएको छ, खाडी, अमेरिका र युरोप चहार्छ, तर स्वदेश हुँदा होस् या विदेशमा हरेक नेपालीले पलपलमा आफ्नो मातृभूमिलाई सम्झेको छ । उसको दिलमा नेपाल र नेपाली नै छ ।
तेस्रो, छिमेकीसँग मिलेर आफ्नो देशको नाका आफै बन्द गर्नेहरु धमाधम अलोकप्रिय बने । दिनदिनै उनको आन्दोलन फितलो बन्दै गयो भने एकपछि अर्को गर्दै उनीहरुको वास्तविक अनुहार नेपालीहरुले थाहा पाउन थाले । केहीबर्ष अघि मात्रै नेपालको नागरिकता लिएर तराईमा सदियौँदेखि बस्दै आएका स्वाभिमानी तराईबासी मधेशी (आदिबासी समुदायमाथि थिचोमिचो गर्नेहरुको आन्दोलनबाट तराईको ठूलो पंक्ति असन्तुष्ट छ । त्यसैले त केही भाडाका व्यक्तिबाहेक आम मधेशी र तराईका विपन्न, सीमान्तकृत समुदायको मधेश आन्दोलनका नाममा भइरहेको बितण्डाप्रति खासै आकर्षण देखिएको छैन । भारतलाई जसलाई उपयोग गर्न खोज्दै थियो, उनीहरुकै वास्तविक धरातल विस्तारै कमजोर हुनु भारतले घुँडा टेक्नुको अर्को कारण हो ।
केही समय अगाडिमात्रै भारतीय युवतीसँग बिहे गरेका एक जना युवा मधेशी सभासद्ले भारतीय नेतालाई तराईको समस्या समाधान गर्नका लागि ज्ञापनपत्र बुझाएको तस्वीर गर्वका साथ फेसबुकमा राखिरहँदा मैले उनलाई सामाजिक सञ्जालमार्फत नै सुझाएको थिएँ– ‘बिहे भारतमै गर्नुभयो, अब राजनीति पनि ससुरालीमै गएर गर्नु !’ मैले अति नै आदार गर्ने उनी आफ्नो देशको समस्या समाधान आफ्नै देशमा खोज्नु भन्दा पनि भारतीय हस्तक्षेपमा आफ्नो जित ठान्थे । सम्भवतः यस्ता जबाफ मजस्ता धेरै नेपालीले त्यस्ता ‘खलनायक’हरुलाई दिएका छन् । उनीहरुको खास नियत तराईको पछिल्लो वितण्डाले उदांगो बनाइदिएको छ ।
अब नेपाली नेताहरुले नयाँ संविधान कार्यान्वयनमा बुद्धिमता देखाउन जरुरी छ । र, सहमतिमै नयाँ सरकार बनाउन जरुरी छ । बन्द, हड्ताल, आन्दोलन र अहिंसाबाट आजित भएका नेपाली जनताले सहमतिय सरकार चाहेका छन् । न कि फेरि पनि सत्ताको लुछाचुँडी । नेपाली नेताहरुले पक्कै पनि नेपाली जनताको भावना कदर गर्दै सहमतिमै नयाँ सरकार बनाउनेछन् । तर, आन्दोलनका स्वरहरुलाई सम्बोधन गर्नेछन् ।

सोह्र श्राद्धको महिमा

शिव प्रसाद गौतम
श्राद्ध भनेको शास्त्र तथा कूलको संस्कार संस्कृति अनुसार पितृहरुले पाउन भन्ने उद्देश्यले श्राद्धापुर्वक गरिने कर्म श्राद्ध हो । यसलाई पिण्ड दिने पनि भनिन्छ । श्राद्धमा पितृका (मरेका बाबु बाजेहरु, दिवंगत भएका आफ्ना पुर्खा, प्रेतको अवस्थाबाट मुक्त भएका पुर्वज, सनातनी विश्वास अनुसार पितृलोकको निवास) नाममा छोरा वा नाती आदी द्वारा चढाइने गाईको दुधमा पकाएको खिर वा जौका पिठोको डल्लो, पितृलाई चढाइने उद्देश्यले बटारिएको खिर वा जौँ को डल्लोलाई पिण्ड भनिन्छ । आफूलाई जन्म दिएका दिवंगत पिता मातालाई सम्झना स्वरुप श्रद्धा भक्ति पुर्वक विशेष पुजाआजा सहित गरिने कर्म काण्ड श्राद्ध हो । जसरी हामी देश र जनताको हितमा आफ्ना जिवन बलिदान गरेका शहीद र राष्ट्रिय विभुतीहरुको जन्म दिवस, स्मृती दिवस मनाउने क्रममा विशेष कार्यक्रम राखेर श्राद्धाञ्जली अर्पण गर्दछौ, त्यसरी नै हामीले पितृहरुलाई सम्मान गर्न श्राद्ध गर्दछौ । मरेका पितृले हामीले दिएको पिण्ड आएर क्वाप्प खान्छन् भन्ने होइन । एउटा उखान छ “जिउदा पितृलाई माड छैन, मरेका पितृलाई खिर” । वर्तमान समयमा यो उखान पितृ नमान्ने पिण्ड तर्पण नगर्नेहरुबाट सुन्न पाइन्छ ।
हामीले जिउदा पितृ हाम्रा पिता माता, हजुरबा हजुरआमा जिवित छदै श्राद्धाभक्ति पुर्वक खान, लाउन र बस्नको राम्रो व्यवस्था गर्नु पर्छ । र स्वर्गीय भएपछि काजक्रिया, श्राद्ध,पिण्ड तर्पण जस्ता शास्त्रिय कर्म अनिवार्य रुपमा गर्नुपर्छ । यो कर्म हाम्रो संस्कार संस्कृती भित्र पर्दछ । आफ्नो संस्कार संस्कृतिको पालन गर्दैन ऊ धर्मछाडा हुन्छ र त्यसको जिवन सुखमय होइन दुःखमय हुन्छ । हाम्रा धर्मशास्त्रले भन्दछन् भगवान् खुसी भएर वरदान दिए पनि पितृ नाराज (रिसाएका) छन् भने भगवानले दिए पनि पितृले हरण गर्छन् भन्ने छ । अर्थात भगवान भन्दा पनि पितृ ठूला छन् । सन्ततिले पहिले पितृलाई खुसी गराएपछि मात्र देवतालाई खुसी पार्नु पर्छ अनिमात्र मनोवाञ्छित फल प्राप्त गरेर जिवन सुखी र सार्थक बन्दछ । पितृ ऋणबाट मुक्ति पाउन सन्ततिले श्राद्ध गर्नै पर्छ ।
श्राद्ध वर्षको दुई पटक गरिन्छ । पहिले स्वर्गे भएको तिथि मितिमा र दोस्रो सोह्र श्राद्धमा गरिने श्राद्धलाई महालप भनिन्छ । एउटा मात्र पितृका उद्देश्यले गरिने श्राद्ध, आमा बाबु वा पतिका तिथिमा गरिने श्रद्धा एकोद्धिष्ट श्राद्धा हो । आश्विन कृष्ण, पितृपक्ष, सोह्र श्रद्धामा पर्ने तिथिमा दिइने पिण्ड तर्पणलाई महालय भनिन्छ । यी पिण्ड दिदा मृत्यु भएको तिथिमा एउटा मात्र पिण्ड चढाइन्छ भने सोह्र श्राद्धको पिण्ड चढाउदा तीन पुस्ता सम्मका लागि छुट्टा छुट्टै पिण्ड चढाएर श्राद्ध गर्ने शास्त्रीय विधि छ । महालय पिण्ड तर्पण गर्दा मावली तर्फका तिन पुस्ता, फुपुहरु, ससुराली तर्फका सासू ससुरालाई पनि तर्पण दिनु पर्छ । यिनका अतिरिक्त गुरु आमा गुरुबा र राजाका नाममा पनि पिण्ड दिइन्थ्यो । अहिले स्वर्ग भएका राजालाई पिण्ड तर्पण गर्ने कुरा गर्दा राजावादी भन्ने आरोप पनि लाग्दछ । किनभने अहिलेका शीर्षनेताले आफ्नो जन्मदिने पितामाताको काजक्रिया पिण्ड तर्पण नगरेका घटना हाम्रा सामु ताजै छन् । त्यसैले देशमा अन्याय अत्याचार बढिरहेका छन् । नेताहरुले धर्म संस्कार छोडेका ले अनिष्ट भैरहेको छ । २०७२ साल वैशाख १२ र २९ गते आएका प्रलयकारी भुकम्पले जनमानस तहस नहस र भौतिक सम्पत्ति ध्वस्त भयो । यसैको परिणामले नेताहरुको चेतना खुलाएको कारणले संविधान लेख्ने काम त भयो यता तराई बासीको संविधानको विरोधमा गरेको आन्दोलनको कारणले मित्र राष्ट्र भारतले आर्थिक नाकावन्दि गरेर नेपाली जनतालाई कष्ट भएको छ । भन्न खोजेको कुरा आफ्नो धर्म संस्कार संस्कृति छाडेपछि देशमा यस्ता संकट आइरहन्छन् । ‘धर्मो रक्षति रक्षित’ धर्मले रक्षा गर्दछ भन्ने संस्कार संस्कृतिलाई प्रायले भुल्नाले पनि मुलुकमा अनेकानेक शंकट आइरहेका छन् । आस्तीक व्यक्तिहरु र महात्माहरुको नेपाल राष्ट्रलाई हिन्दुराज्य को रुपमा नयाँ संविधानमा लेख्न अनुनय विनय गर्दा गर्दै पनि धर्म निरपेक्ष राष्ट लेख्नाले पनि बहुसंख्यक नेपालीको आत्मा रोएको छ । विदेशी धर्म प्रचारको आर्थिक प्रलोभनमा परेर शीर्ष नेताहरुले नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनेर लेख्न पुगे भन्ने आम नेपालीको धारणा छ । सत्य तितो हुन्छ, असत्य मिठो हुन्छ । यो विषयमा पितृको काजक्रिया पिण्ड तर्पण श्राद्ध गर्न छाडेका नेताहरुले यस्तो कार्य गरेर धर्म छाडेका हुन भन्न सकिन्छ । पिता माताको सम्पत्ति सबैलाई प्यारो छ तर उनीहरुको सेवा गर्न प्रायलाई गाह्रो छ । सम्पत्तीका लागि धर्म छाड्ने धर्म परिवर्तन गर्ने गराउने सबै नरकका भागिदार हुन् । धर्ममा आस्था नहुने नास्तिकहरुले मुलुकमा धर्म, संस्कार र संस्कृतिको पालन नगरे र आफू र आफ्ना सन्ततीलाई धर्म हिनताको खाडलमा गाडेका छन् ।
हामी मानव सात्विक र साधनारत जिवन व्यतिथ गर्ने तथा जिवन र जगतका आध्यात्मीक भौतिक तत्वहरुलाई साक्षात्कार गर्ने वौद्धिक मन्त्रका प्रथम द्रष्टा मानिएका वौद्धिक साहित्यको रचना र व्यवस्थित रुपमा संकलन गर्ने व्यक्ति, मुनि, तपस्वी, ऋषिमुनीहरुका सन्तान हामी हौ । यस्ता ऋषि रात हुनुहुन्थ्यो । उहाहरुलाई सप्तर्षि भनिन्छ । उहाँहरुको नाम यस प्रकार रहेका छन् । (१) अत्रि (२) गौतम (३) भरद्वाज (४) विश्वामित्र (५) जमदग्नी (६) कश्यम (७) अग्नी । यिनै अत्रि, कौटिल्य, कश्यप, वरिष्ट, भारद्वाज आदी । अत्रि अनुसुयाका सन्तान गोतामेहरु अत्रिका सन्तान भएकाले आफ्नो गोत्र अत्रि गोत्र मान्दछन् । यी अत्रि वंशीय बन्धुहरुले कास्की जिल्लामा २०५७ सालमा पर्ने अतृप्त चतुर्दशीका दिन आफ्ना कुल पिता माता अत्रि अनुसुयाको पुजा आरधना गर्न प्रारम्भ गरेका छन् । २०५४ साल पौष ५ गते कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं.१० गिता मन्दीर रामघाटमा भएको गोतामेहरुको भेलाले शिव प्रसाद गौतम पोखरा(१० रामघाटको संयोजकत्वमा गौतम भातृ समाज केन्द्रिय समिति गठन ग¥यो र यो समितिले यो नामको संस्था जिल्ला प्रशासन कार्यालय कास्कीमा र समाज कल्याण परिषदमा पनि यो संस्था दर्ता गरेर हाल सम्म सक्रिय रुपमा काम गर्दै आएको छ ।
यो समाजले धिताल गाविस भेडावारीमा अनन्नत चतुर्दशीको दिन आफ्ना तीन पुस्ता माथिका ज्ञात अज्ञात अत्री अनुसया पितृहरुको कूल (पिता) पूर्खादेखिको एउटै थर, गोत्र,सम्बन्ध आदिको घराना वंशको पुजा पाठ गरी पापस (गाइको दुधमा चामल राखेर पकाएको खिर) प्रसाद चढाएर कूलपुजा गरे । यो पनि तीन पुस्ता माथिका ज्ञात अज्ञात पितृहरुको श्राद्ध हो । सोेह्र श्राद्ध प्रारम्भ हुनु अघिल्लो दिन अर्थात भाद्र शुक्ल पक्ष अनन्त चतुर्दशी ब्रत, पूर्णिमा व्रतका दिन अत्री गोत्रीहरुले आफ्ना कुल पुरुष सहित तीन पुस्ता माथिका सबै पितृहरुलाई पुजा गर्छन । यहि पुजालाई कुल पुजा भनिन्छ । केहिले कुलाइन पूजा भन्छन् । यो कुलाइन नभई कुल पुजा हो । वलि प्रथालाई अन्त्य गरेर पापस शिर चढाएर पुजा गर्ने प्रथा यो समाजले चलाएको छ । आश्विन ११ देखि प्रतिपदा श्राद्धबाट आश्विन २५ गते औसी श्राद्ध गरी पितृ विसर्जन गरिन्छ । यी १४ दिनमा आ(आफ्ना पितृको तिथिमा पितृहरुको श्राद्ध गर्ने प्रचलन छ । यो समयलाई सोह्र श्राद्ध पितृपक्ष भनिन्छ । पितृहरुको श्राद्ध गरेर खुसी पारेपछि २६ गते बडादशैको घटस्थापनाबाट वडा दशै प्रारम्भ हुन्छ । यो दिन देखी नवरात्रारम्भ हुन्छ ।
यसलाई विजय दशमी पनि भनिन्छ । पहिले पितृपुजा गरेपछि मात्र देव देवीका पुजा हुन्छ । त्यसैले हिन्दु संस्कार संस्कृतिमा सोह्रश्राद्धको महिमा अत्यन्त महत्वपुर्ण छ । तर दुख लाग्छ प्रायःले पितृको श्रद्धा गर्न चासो खाँचो राख्दैनन् उनीहरुको सम्पत्ति हडप्न मात्र अग्रसर हुन्छ र हडपेर पितृलाई दुःख दिएका घटना समाजमा प्रसस्त छन् । पितृको पिण्ड तर्पणमा खर्च गर्न दाँतबाट पसिना निकाल्छन् भने वडा दशैमा ऋण गरेर भए पनि देवी दुर्गाको नाम पारेर बोको वलि दिएर दशैमा माछा मासु मदिरा आदि सेवन गरेर मात्छन् । यो राम्रो होइन । पितामाताको सेवा गर्नु सन्ततीको कर्तव्य हो तर जिउदै छदा सेवा नगर्ने सन्तानले मरेपछि पिण्ड तर्पण देलान भन्नु मात्र हो । त्यसैले गर्दा पितृको सेवा नगर्नेहरुले जिवनमा अत्यन्त दुःख झेल्नु परेको छ । कर्तव्य निष्ठ छोराले पितृ उद्धार र आफ्नो कल्याणका लागि पितृ श्राद्ध गर्नै पर्छ । सोह्र श्राद्धले सम्पूर्ण सन्ततीलाई यहि सन्देश दिन्छ ।

नेपाली राज्य, सरोगेसीमाथि तेजाब किन ?

– शितल दाहाल
केही समयअघि म नेपालको अन्तर्रा्ष्ट्रिय अस्पतालमा काम गर्थेँ । संयोग कस्तो र्पयो भने एक दिन मैले भारतीय ’सरोगेट मदर’ र इजरायली दम्पतीको भाषा अनुवाद गरिदिएँ ।
उमेरले ४५ काटेका ति दम्पतिको ’ओभम् र स्पर्म’ (डिम्ब र शुक्रकिट) लाई पहिले टेस्ट्युबमा ’फर्टिलाइज’ (निषेचित) गराएर भारतीय महिलाको कोखमा बच्चा हुर्काइएको थियो । यसरी बच्चा पाउने महिलालाई सरोगेट मदर भनिन्छ ।
ती दम्पतिहरुको भ्रुण जब सन्तान बनेर जन्म लियो, उनीहरु त्यही सन्तान जन्माइदिने आमासँग कुरा गर्न चाहन्थे । यसअघि उनीहरुको भेटसम्म भएको थिएन ।
नेपाल आएका ती दम्पतिले भने, ’ईश्वरले जुन कुरा हामीलाई दिएनन्, त्यो उपहार तपाईँले हामीलाई दिनु भयो । यस अर्थ तपाईँ हाम्रा लागि ईश्वरभन्दा पनि ठूलो हो ।’ यता भारतीय सरोगेट मदरले आत्म विश्वासका साथ आफू महिला भए कै कारण उनीहरुको खुसीको सहायक बन्न पाएकोमा गर्व गरिन् ।
मेरो जिन्दगीका अनेकन संयोगहरु मध्ये यो विशेष संयोग, म त्यो अद्भुत क्षणको साक्षी बन्न पाएँ । यो घटनाबाट सरोगेसीबारेको मेरो अवधारणामा ९० डिग्रीको बद्लाव आयो । सरोगेट मदर बन्ने वा नबन्ने भन्ने कुरा महिलाको व्यक्तिगत अधिकारको कुरा हो भन्ने सवालमा म त्यसपछि प्रस्ट भएँ । अझ भनौँ, प्रकृतिले हामी महिलालाई सन्तान जन्माउने क्षमता दिएको देखेर हामी महिलाहरु विषेश हौँ भन्ने विश्वास लाग्यो ।
यसैबीच, राजधानीका केही अत्याधुनिक अस्पतालहरुले सरोगेसी सेवा शुरु गरेको खबर आयो । आफूलाई खुबै महिला मैत्रि मिडिया बताउने मिडिया सरोगेसीका विरुद्ध यसरी खनिए कि यसका राम्रा पक्षहरुमाथि यीनले तेजाब छर्किए। मैले बुझेको सरोगेसी र नेपाली मिडियाले बुझेको सरोगेसीबारे केलाउन मलाई महिनौँ लाग्यो ।
संसारभरि कै तथ्याङ्क हेर्ने हो भने आमा बन्न योग्य केही युवतीहरूले आफ्नो कोख भाडामा दिने प्रचलन छ । भाडाको कोख भन्ने शब्द सुन्दा नकारात्मक लाग्छ । व्यवसायिक खेती या ठगीझैँ पनि सुनिन सक्छ यो शब्द । भाडा भन्ने वित्तिकै हामी धेरैले व्यवसायिक रुपमा धमाधम एउटै कोखमा एउटै महिलाले दर्जनौँ बच्चाहरु हुर्काउने ठानेका हुन सक्छौँ तर त्यो साँचो होइन । सरोगेसीमा महिलाले मेशिनले जसरी बच्चा पाउने होइन। एक महिलाले एक पटक मात्र सरोगेसी गराउन पाउने नियम नै छ ।
सरोगेसीका बारेमा रहेका केही भ्रमहरुबारे हामीले स्पष्ट हुनु जरुरी छ । सरोगेसीको नेपाली रुपान्तरण हो, नायव। यसको मतलव सरोगेट मदरको अर्थ हो, नायव आमा अर्थात् केही समयका लागि आमाको जिम्मेवारी बोक्ने व्यक्ति ।
सरोगेसीमा एक वा दुई पटक आफ्नै बच्चा पाइसकेको महिलाले अरु कसैको बच्चा आफ्नो गर्भमा हुर्काउने प्रचलन छ। अरु कसैको पनि बच्चा पाइदिँदैमा उनले फेरी आफ्नो श्रीमानसँग मिलेर बच्चा पाउन नमिल्ने होइन ।
अरु कसैको बच्चा पाउने भन्दैमा कोही पुरुषसँग सहवास गर्ने पनि होइन । यसलाई यौनधन्दा वा मृगौला बेचबिखन यो प्रकृयामा,सँग किमार्थ तुलना गर्न मिल्दैन ।
टेस्टट्युबमा फर्टिलाइज गरिएको केही विकसित एम्ब्रियोलाई सामान्य सिजरिङ मार्फत महिलाको गर्भमा राख्ने गरिन्छ। यस प्रकृयाको खास विशेषता के हो भने यसरी जन्मिएको बच्चाको डि.एन.ए परीक्षण गर्दा जुन दम्पतिको ओभम् र स्पर्र्म हो उसैसंग मात्र मेल खान्छ, ९ महिना गर्भमा राखिदिने आमाको बच्चामा कुनै प्रकारको पनि प्रभाव रहँदैन । यस अर्थ यो बच्चाको आमाबाबु को भन्नेमा कुनै दुविधा रहँदैन ।
अहिले चर्चामा रहेको विषयचाहीँ ’जेस्टेशनल क्यारियर’ अर्थात’ भ्रुणावधिको आमा’को विषय हो । केही समयका लागि वयस्क र सक्षम युवतीहरुको गर्भ लिएर बच्चा जन्माउने प्रचलन नेपालमा भित्रिएको र यसले हाम्रो सामाजिक संरचना, व्यवहार र संस्कारमै गम्भीर असर पार्ने भन्ने अहिलेको बहस विषय हो। हामी मध्ये धेरैले यसका बारेमा धेरै कुरा नबुझि आफ्नो मत बनाइरहेका छौँ । नबुझि नबुझि बनाइएको त्यही मतमा बहस गरिरहेका छौँ ।
भावुकतामा बस हामी धेरैले महिलाले पेट बोक्दा भोग्नुपर्ने शारिरीक सास्ती सम्झेर सरोगेसीलाई ठाडै ’नो नो नो’ भनिरहेका छौँ तर यसलाई अरु कोणबाट पनि हेर्नुपर्ने बेला आइसकेको छ । हुनत हाम्रो नेपाली समाज परम्परागत संस्कारले बाँधिएको छ । कति सम्म भने अष्ट्रेलियामा नाति जन्मन्छ अनि न्वारनचाहीँ नेपालबाटै स्काइप र भाइवरबाट हुन्छ । पण्डितले यता भाइवरमा मन्त्र पढ्छन, अनि अष्ट्रेलियामा सुत्केरो चोखिन्छ । संस्कृतीको नाउँमा हामीले पालना गरेका बकमफुसे नियमहरुको फेहरिस्त लामै हुन जान्छ ।
खैर, नेपाली समाज जड छ । महिलाका सवालमा अझै कठोर छ। विर्य दान गर्दा समाज र संस्कृतीलाई कुनै हानी नोक्सानी भएको नेदेख्ने मिडिया र राज्य संचालकहरु महिलाको कोख उनको स्वविकेकले कसैको सहयोगको लागि दिन तयार हुँदा देशको सिमानै मिचिए जसरी चिच्याए। यति धेरै चिच्याए कि सरकारले आफ्नो होस गुमायो र हतासमा निर्णय र्गयो–नेपालमा सरोगेसी अवैधानिक । यो समाचारलाई यति महत्वले छापियो कि मानौ महिलालाई हराउँदा देशले जित्छ। यदि यो समाचार सहि हो भने हाम्रा लागि लज्जास्पद हार हो। जसरी आज आफैले पाएको सन्तानलाई आफ्नै नाम दिन लडाईँ लड्दैछौँ एकदिन यस्तो पनि आउने छ,आफ्नो कोखमाथि आफ्नै मात्र अधिकारका लागि लड्नु परोस। त्यो लडाईँ लड्न पनि हामी नेपाली महिला पछि हट्ने छैनन् ।
अरे सरकार ! आज मलाई चिच्याउन मन छ, ’मेरो पेट, यसमा पाउरोटी राखुँ, यसमा मःम राखु, यसमा चाउमिन राखु, वा पनिर डोसा राखु या कसैको सन्तान सुखको लागि उस्को बच्चा मेरो पेटमा हुर्का्दिउँ, यो मेरो मर्जी हो ।’ मेरो पेटमा के राख्ने भनेर फैसला गर्न मलाई नै दिनुस्। मेरो आशय–गर्भाशय मेरो हो। जसरी विर्यदान, आँखादान, मरेपछि शरिरका अंगदान वा मृगौला दान गर्दा हामीले दातालाई फैसला गर्ने हक दियौँ त्यसैगरी महिलाको कोख माथि उसैले फैसला गर्न पाउनु पर्छ । कम्तीमा यस विषयमा आम नेपाली महिलाले आफ्नो स्वविवेकको उपयोग गर्नेछन् भन्ने मेरो विश्वास हो ।
आमा बन्ने रहर स्त्रीजातिय स्वभाव हो। यद्यपि विभिन्न जैविक कारणहरुले कतिपय आमाहरु प्रजननका लागि सक्षम हुँदैनन्। वंश संचालनका लागि सन्तान प्राप्त गर्ने इच्छा उनीहरुमा भएपनि,प्रजननका लागि उपयुक्त ’ओभम्’ र ’स्पर्म’ उपलव्ध हुँदाहुदै पनि मात्र शारिरीक असमर्थताका कारण उनीहरुले आफ्नै गर्भ्भित्र बच्चा हुर्काउन असमर्थ हुने गर्छन् ।
यस्ता दम्पतीको समास्या समाधान गर्ने उपाय विज्ञानले निकालेको छ । दम्पतीको ओभम र स्पर्म अरु कसैको गर्भमा प्रत्यारोपण गराएर निसन्तानहरुलाई सन्तान सुख पाउने बाटो खोलिदिएको छ। विज्ञानको चमत्कारै मान्नु पर्छ, विना कुनै शारिरिक सम्बन्ध आफुले चाहेमा महिलाहरु आफ्नो कोखमा बच्चा हुर्काउन सक्ने भएका छन् ।
तर हेरौँ न हाम्रो सामाजिक संस्कार र देशको कानुन कस्तो छ? जब महिला सन्तान जन्माउन असक्षम हुन्छिन तब कानुनले उसको पतिलाई दोश्रो विहे गर्न रोक लाउँदैन।
एउटी सामान्य महिला जसले सन्तान जन्माउन नसकेकै कारण अनेकन लान्छनाहरु व्यहोर्नु पर्छ। मौका मिले ति महिलालाई ’बच्चा पाउन नसकेको अलच्छिना’ पनि भनिहाल्छन्। सन्तान जन्माउन नसक्ने ’बाँझी’जस्ता शब्दवाण सहँदै, तिरस्कार र अपमान खेपेर कति निर्दोष महिलाले आफ्नो जुनी कटाए होलान् त्यसको के हिसाब? तर जब तिनी जस्तै अर्कि महिला आफ्नो कोख अरुलाई सहयोग गर्न दिन मन्जुर हुन्छिन्, त्यो बेला पनि हामीलाई आपत्ति हुन्छ। समाज र देशलाई आपत्ति हुन्छ ।
मेरो जिज्ञासा–महिलाले आफ्नो गर्भाशयमाथि आफ्नो अधिकारको कुरा गर्दा आपत्ति केका लागि ? यो विषयमा हाम्रो समाजलाई मन नपरेको चाँहि के हो ? किन हो?
हामीले ’सुपरस्टार’ मानेका भारतीय अभिनेता आमिर खानले ढिलो गरी दोश्रो बिहे गरे । उनकी श्रीमती किराण राय आफ्नो ढल्केको उमेर कै कारण आमा बन्न नसक्ने अवस्थामा थिइन् । उनीहरुले सरोगेट मदरको सहायता लिएर छोरा आजाद राय खान जन्माइएको बताएकी छिन् । मानवीय समवेदनाप्रति निक्कै सजग मानिएका आमिरलाई सरोगेट मदरकै कारण सन्तान सुख मिल्यो। आमिरर किरणले त्यसो गरे भनेर हामीमध्ये कसैलाई आपत्ति छैन । अर्का बलिउड स्टार नायक सारुख र गौरीले पनि आफ्नो तेश्रो सन्तानको जन्म सरोगेट मदरबाटै गराएका थिए ।
अमेरिका पुगेको सपना देख्दा विउँझन मन नगर्ने हाम्रा समाजका अगुवाहरु, तपाँईको सपनाको देश अमेरिका र अष्ट्रेलियामा बकाईदा सरोगेसीले कानुनी मान्यता पनि पाएको छ। सन्तान जन्माइ दिएर धर्म मात्र होइन पैसा पनि कमाउँछन् त्यहाका महिलाले। के तपाँई त्यहाँ पुग्नु भयो भने सरोगेसीकै कारण संस्कार खतरामा पर्छ भनेर चिच्याउन सक्नु हुन्छ ? होइन भने यो विषयमा बहस गरौँ ।
यसका राम्रा र नराम्रा पक्षहरु केलाउँ । गरिब र सिधासाधा महिलाहरु नठगिने गरी कसिलो कानुन बनाउँ। सरकारले यसको नियमन गरोस् । तर संस्कारको दुहाई दिएर कोख र कोख हस्तान्तरणको अधिकारहरुलाई प्रतिबन्ध गराउनेतिर नलागौँ । कोखको अधिकार महिलाहरुको निजी अधिकारको विषय हो ।

यो पनि नहुने, त्यो पनि नमान्ने तर पनि संघीयता चाहिने!

– दीर्घराज उपाध्याय
६ प्रदेशको सिमांकनको खाका सार्वजनिक भएपछि देशमा बिभिन्न खालका आन्दोलन जारी छन्। यद्यपी त्यसअघि पनि आफू अनुकूल र आफूले भने बमोजिमका जिल्ला र क्षेत्रलाई जोडेर प्रदेशको माग गर्दै आन्दोलन नभएका होइनन् । कसैलाई तराईका जिल्ला चाहिएका छन् । कसैलाई पहाडका । कसैलाई हिमाल, पहाड र तराईसँगै जोडिएका। तर आन्दोलन गर्ने अधिकांशले आफ्ना अनुकूलका प्रदेश माग्दा अरुप्रति सहिष्णु व्यवहार देखाएका छैनन्। तराईमा आन्दोलनरत कतिपय जाति र सम्प्रदायले पहाड र पहाडियालाई गाली गरेका छन्, गरिरहेका छन् ।
पहाडमा संभावना छ । पहाडमा जल छ । जंगल छ। जडिबुटी छ। सबैथोक छ । तर विकास छैन। ती प्राकृतिक स्रोतको सदुपयोग छैन। र, पहाडमा त्योभन्दा पनि बढि गरिबी छ। अभाव छ। बिकटता छ । पहाडको आफ्नै पीडा छ। पहाडमा बस्नेका आफ्नै बाध्यता र विवशता छन्। फेरि पनि सबैको तारो पहाड बनेको छ। सुदूर पहाड चुप थियो। मौन थियो। उसले कसैप्रति रीस राग, र घृणा कहिले ओकलेन । यतिबेला पनि ओकेलेको छैन, जतिबेला उसलाई लिएर घृणाको राजनीति चुलिएको छ। पहाडले कसको के बिगारेको छ? एउटा भूगोल हो, पहाड। भूगोललाई गाली गरेर ताली त मिल्ला । तर त्यसले पहाडको योभन्दा बढि केही बिग्रिने वाला छैन। गालीले सपार्ने कुरा त झन् हुँदै भएन ।
सधैं सत्तामा रहेका मधेशवादी नेताहरु आफू सत्तामा हँुदा मधेशको विकासका लागि त केही गर्दैनन् । बरु सत्ताबाट बाहिरिएकै दिन पहाडले मधेशको विकास हुन दिएन भनेर आरोप लगाउँछन्। पहाडलाई गाली गर्छन् । जो आफंै विकासको पर्खाइमा छ । जो आफंै पछाडि परेको छ, पछाडि पारिएकोे छ । उसैलाई गाली गरेर रमाउने प्रवृति र संस्कार हुर्किएको छ । धनगढीका कारण कैलालीका अन्य भाग ओझेलमा छन्। यस्तो मान्छन्, अन्य भागका बासिन्दा। महेन्द्रनगरका कारण कञ्चनपुरका अन्य भाग ओझेलमा छन् । कैलाली र कञ्चनपुरका कारण ओझेलमा परेको ठान्छ, सुदूरको पहाड। दीपायल धनगढीलाई दोष दिन्छ। दीपायललाई तोलेनी गाली गर्छ। बाजुराको मार्तडीले दोष दिने धनगढीलाई नै हो। र मार्तडीसँग बेग्रल्ती गुनासा छन्, बिच्छ्या, रुगिन र साप्पटाका । जब नून होइन, टाउकोमा चोट लिएर फर्किन्छन, उनीहरु। मार्तडीलाई सत्तोसराप गर्छन् । केही उदाहरण हुन्, यी त। जो केन्द्रमा छ, त्यो सधै गाली खान्छ । सदरमुकामसँग गाउँका असिमित गुनासा छन्। धनगढी र महेन्द्रनगरका गुनासा छन्, राजधानी काठमाडौंसँग। सुख, सुविधा, अवसर र विकासका आकांक्षीहरु आफूले त्यो नपाएको दोष केन्द्रमा जो छ, त्यसलाई दिन्छन् । यो स्वाभाविक र आम प्रवृति हो ।
जब मान्छे विभाजित हुन थाल्छ। तब उसलाई केहीले रोक्दैन । पहिले उसको तारो फरक धर्म र सम्प्रदाय मान्ने मान्छे हुन्छ। त्यसपछि आफ्नै धर्म मान्ने भित्रको फरक जात तारो बन्छ। हिजो मधेशमा भएको त्यही हो। पहिले पहाडी समुदाय लुटिए। कुटिए । लखेटिए । आज त्यो आगो र अराजकताले त्यहीका समुदायलाई पोलेको छ । किनकी आगोसँग कुनै संवेदना हुँदैन । भावना हुँदैन । आगोको कुनै धर्म हुँदैन । हिजो चन्दा, फिरौती, अपहरण लगायतका ज्यादती पहाडी समुदायमाथि हुन्थ्यो । आज आफ्नै समुदायमाथि हुन्छ। हिजो पहाडी समुदायमाथि ज्यादती हँुदा चुप बस्नेहरु आज स्वंय पीडित छन्। यसले देखाउँछ, आतंकको कुनै धर्म हुदैन । ढिलो चाडो सबैलाई यसले पिरोल्छ।
देशका अन्य भागका तुलनामा सुरक्षित, शान्त सुदूरपश्चिम र यहाँको तराईका दुई जिल्लामा थारु र पहाडिया समुदायबीचको सद्भावपूर्ण सम्बन्धमा आगो लगाउन भइरहेका केही तत्वको दुस्प्रयासलाई बेलैमा नचिर्ने हो भने भोलि त्यो आगोले कसैलाई छोड्ने छैन। त्यो आगोबाट कोही जोगिने छैनन् । थरुहट थारुवान संघर्ष समितिले कैलालीलाई टुक्र्याउनु पर्ने माग गर्दै आएको छ । यसलाई थारुवानमा राख्नुपर्ने उसको माग छ। संघीयताको सीमांकनमा कैलाली र कञ्चनपुरलाई कर्णाली प्रदेशमा राखिएको छ । जुन प्रदेशमा मध्यपश्चिमको कर्णाली अञ्चलका पुरै जिल्ला, राप्ती र भेरीका केही जिल्ला राखिएका छन्। सीमांकन भएको लगत्तै सुर्खेतमा भएको आन्दोलनमा तीन जनाको मृत्यु भयो। सुर्खेत, जुम्ला, जाजरकोट लगायतका जिल्लामा अहिले पनि आन्दोलन जारी छ। यद्यपी ती जिल्लामा सञ्चालित आन्दोलनका माग आफ्नै किसिमका छन्।
सुर्खेतले प्रादेशिक राजधानीको माग गरेको छ। कर्णालीले स्वायत्त प्रदेशको माग गरेको छ। कर्णालीको आन्दोलनमा सहभागीहरुले सुदूरपश्चिमसँग कर्णालीलाई नगाभ्न माग गरेका छन्। सुर्खेतको चिन्ता प्रादेशिक राजधानी हुन नपाउने त होइन भन्ने हो। उसको विरोध प्रदेशको सीमांकनलाई लिएर होइन। यदि शुरुवातमै प्रदेशको राजधानी सुर्खेत बनाउने भन्ने छनक वा राजनैतिक दलका शीर्ष नेताबाट प्रतिबद्धता पाएको भए सुर्खेतमा आन्दोलन नै हुँदैन थियो। उनीहरुलाई डर छ, अखण्ड सुदूरपश्चिम पक्षधरहरुले कहीँ आन्दोलन गरेर ६ नम्ब र प्रदेशको राजधानी सुदूरपश्चिममा बनाउने त होइनन् भन्ने। सुर्खेतका बासिन्दाले गरेको आन्दोलन सुदूरपश्चिमसँग गाभिएकोमा विरोधमा होइन, प्रादेशिक राजधानी बनाउनका लागि दबाब दिन हो।
यद्यपी सुर्खेतलाई लिएर मध्यपश्चिमकै दैलेख, जाजरकोट, जुम्लाका असहमति गुनासा र बल्गे्रल्ती छँदैछन्। सुर्खेतलाई नै प्रादेशिक राजधानी मान्न र स्वीकार गर्न अन्य जिल्ला नै सहमत छैनन्। सुर्खेतका थुप्रै गुनासा छन्, बाँकेसँग। त्यसैले अखण्ड मध्यपश्चिमको कुरा गर्दैन, सुर्खेत । मध्य तथा सुदूरपश्चिम लगायत देशका अन्य भागमा भइरहेका आन्दोलन सरसर्ती जे नाम र बहानामा भएपनि देशलाई केन्द्रमा राखेर कसैले आन्दोलन गरेको पाइँदैन। सबैका आ–आफ्नै स्वार्थ छन्। आ(आफ्नै चाहना र अपेक्षाहरु छन्। चाहे त्यो कुनै जातीका हुन्, चाहे कुनै जिल्लाका । कोही भूगोल टुक्रयाउँन हँुदैन भनेर विरोध गरिरहेका छन् । त कोही भूगोल नटुक्र्याएको भनेर विरोधमा उत्रिएका छन् ।
भूगोल टुक्र्याएर कुनै जाती वा समुदायको विकास भएको उदाहरण कतै छैन। कुनैपनि पछाडि परेको जातीको विकास र उत्थानका लागि निश्चित समयसम्म आरक्षण दिइनुपर्छ। उनीहरुलाई अधिकार सम्पन्न बनाइनुपर्छ । र, अवसरहरु सृजना गरिनुपर्छ । राज्यको नीति निर्माण तहसम्म पुग्नको लागि । तर अर्को जिल्लासँग जोड्न पनि नमिल्ने, अर्को जिल्लालाई मिसाउन पनि नहुने। अर्को अञ्चल र क्षेत्रलाई स्वीकार पनि नगर्ने, अनि अर्को अञ्चल र क्षेत्रसँग पनि नमिल्ने। फेरि पनि सबैलाई संघीयता चाहिने। यो पनि नहुने। त्यो पनि नमान्ने। फेरि पनि संघीयता चाहिने। यदि केही पनि नमान्ने हो भने चित्र बहादुर केसीको लाइन नै ठीक। संघीयता चाहिँदैन भन्नु र्पयो। संघ बलियो तब हुन्छ, जब भावनाहरु मिल्छन् । उद्देश्यहरु एक हुन्छ। लक्ष्य र गन्तव्य एउटै हुन्छ। यस्तो व्यवहार देखिदँैछ, मानौं अहिले प्रदेश जोडिएका जिल्लाहरु पहिले अर्कै देशका थिए। र अर्को प्रदेशसँग जोडिएका जिल्लाका बासिन्दाले पनि आफ्नो भूभाग नै खोसिए र अर्को देशमै विलय गरेजस्तो महशुस गरिरहेका छन्। अहिले आएको संघीयताको सीमाकंनको खाका अन्तिम होइन, अन्तिम खाका यस्तै भयो भने के होला देशको हालत।
को पहिले आयो? को पछि आयो? को कहाँबाट आयो? को कहाँबाट आयो? जो जहाँबाट आएपनि जहिले आएको भएपनि, कैलालीमा बस्ने सबै यहाँका बासिन्दा हुन्। थारु समुदायको विकास र उत्थानको बाधक न त यहाँको भूगोल हो। न त यहाँको अन्य जाती र समुदाय। तर अरु जाती र समुदायलाई आफ्नो विकासको बाधक मान्ने र त्यही अनुरुप व्याख्या गरी सर्वसाधारणलाई भड्काउने कार्यले तत्काललाई आन्दोलन उत्कर्षमा र्पुयाउन सहयोग पुग्ला। केही नेताले वाहवाही पाउलान्। तर त्यसले दीर्घकालीन रुपमा कसैको हीत गर्नेछैन ।
थारु र पहाडी समुदाय न त प्रतिस्पर्धी हुन्। न त परस्पर बिरोधी। दुईटै समुदायका माग राज्यसंंग छन्। आफ्ना माग पुरा गर्न राज्यलाई दबाब दिनका लागि एकले अर्कालाई गाली गर्ने, निषेध गर्ने, घृणाको राजनीति गर्ने काम गर्न हँुदैन। अन्त्यमा, ९० को दशकमा रुवाण्डामा भएको हुतु र तुत्सुबीचको लडाईंमा झण्डै १० लाख मान्छेको ज्यान गएको थियो। इराकमा ९० को दशकमा भएको अमेरिकी आक्रमण र त्यसयता सिया र सुन्नी समुदायबीच जारी गृहयुद्धमा लाखांै मान्छेले ज्यान गुमाइसकेका छन्। घृणाको राजनीति कति भयानक हुन्छ, ईराक र रुवाण्डा हेरे पुग्छ ।
साभार ः सेतोपार्टी डट कम

नाग देवताको पूजा गर्ने दिन नागपञ्चमी

शिवप्रसाद गौतम

23_07_2012-nagmahadev

23_07_2012-nagmahadev

नाग आठ प्रकारका छन् । (१) बासुकी (२) तक्षक (३) कुलिक (४) कर्कोटक (५) पद्य (६) शङ्खचूड
(७) महापद्यम (८) धनञ्जय हुन् । यो वर्षको नागपञ्चमी २०७२ साल भाद्र २ गते परेको छ । साउन महिनाको पञ्चमी तिथि नागहरुको पूजा गरिने र कागतमा नागका चित्र लेखेर वा छापेर घर–घरमा टाँसिने दिन श्रावण शुक्ल पञ्चमी नागपञ्चमी हो । पौराणिक परम्परा अनुसार नागले बास गर्ने जलाशय, नाग बस्ने दललाई नागदह, नागपोखरी भन्ने प्रचलन छ । नागपञ्चमीको पर्वका दिन नौ तालमा स्नान गरे पापबाट मोक्ष भइन्छ भन्ने धारणा रहेको छ । भक्तजनहरु पोखरा उपत्यकामा रहेका नौ तालहरुमा स्नान गरेर आफूलाई धन्य ठान्दछन् । (१) फेवा (२) रुपा (३)वेगनास (४) दिपाङ (५) मैदी (६) कमल (७) न्यूरेनी (८) गुदे (९) खास्टे । यी नौ ताल मध्ये फेवा र कमल ताल पोखरा उपमहानगरपालिकामा पर्छन् भने अरु सातताल लेखनाथ नगरपालिकामा पर्दछन् । पोखरा–१३ मा रहेको ताललाई कमलका वृक्ष रहेकाले कमल तालका साथै नागको वासस्थान भएकाले नागदह पनि भनिन्छ । यो दलमा श्रावण भाद्र महिनामा सेतो कमलका फूल फुल्दछन् । नागपञ्चमीका दिन श्रद्धालु भक्तजनहरु नौ तालमा स्नान गर्दछन् । अन्त्यमा कमल पोखरीमा आएर स्नान गरी नागको पूजा गर्दछन् । यो दिन यहाँ धार्मिक मेला लाग्छ । कमलका फूल र पात घरमा लगेर घरका मुल ढोका र अन्य ढोकाहरुमा टाँसेर कमलको फूल र पात चढाएर पूजा गर्छन् । दुर्भाग्य पोखरा(१३ मा रहेको यो तालको विकास निर्माण र संरक्षणमा सम्बद्ध निकायहरुको ध्यान दृष्टि नपुगेकाले यो तालको क्षेत्रफल दिनानु दिन घट्दै गई अस्तित्वमा शंकट सृजना भइरहेको छ ।
अगस्त्य, पुलस्य, वैशम्पाएन, सुमन्तु र जैमनि यी पाँच वज्रबारक (बज्रबाट रक्षा गर्ने) मुनिहरु हुन् । कल्ल्याणमित्र र जैमिनी ऋषि किर्तन गर्नाले र घरको ढोका आदिमा नाग टाँसिनाले चट्याङ र आगोको डर हुँदैन । अनन्त, वासुकी पद्म, महापद्म, तक्षक, कुलीरे, कर्कट र शङ्ख, यी आठ नागको स्तुती गर्नाले सम्पुर्ण भयबाट मुक्ति मिल्छ भन्ने जनविश्वास छ । जहाँ नागराजा शयन गर्नु हुन्छ त्यहाँ विष्णु भगवान विराजमान गर्नु हुन्छ । त्यहाँ बज्र टुटफुट हुन्छ । शूल मानिस मात्रलाई लाग्ने सबै प्रकारका रोगव्याध पनि नष्ट हुन्छन् भन्ने अवधारणा र विश्वास छ । त्यसैले गर्दा भक्तजनहरु आफ्नो आपु आरोग्यका लागि आजका दिन नागको पूजा गर्दछन् । पूजाको अवसरमा निम्नानुसार को स्तुती गान गर्छन् ।
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैभिनिश्चव पञ्चैते बज्रवारकाः ।।
मुने कल्ल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभय नास्ति लिखितम गृहमण्डलले ।।
अनन्तो वासुकिः पद्मो महायद्मश्य तक्षक ।
कुलिरः कर्कटः शङखश्याष्टौ नागाः प्रकिर्तिता ।।
पत्रहिशायी भगवाने यत्रास्ते हरिरीश्वरः ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्यका कथा ।।
भावर्थः– अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्त र जैमिनि यी पाँच जना बज्रवारक (बज्रबाट रक्षा गर्ने) नागरुपी मुनिहरु हुन् । कल्ल्याणमित्र र जैमिनि ऋषिको किर्तन भजन र पूजा गर्नाले र घरको ढोका आदिमा नाग टाँसीनाले चट्याङ र आगोको भय (डर) हुदैन । अनन्त वासुकि, पदम, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख यी आठ नागको स्तुती गर्नाले जीवनमा आइपर्ने सारा शङकटहरु दुरु हुन्छन् । जहाँ नागराजामा शयन गर्नु भएको विष्णु भगवान विराजमान हुनु हुन्छ त्यहाँ ब्रज्र त टुटफुट हुन्छ भने रोगव्याध रहने कुरै हुदैन ।
नागमाताको स्तुति
आस्तिकस्य मनेर्माता जगदानन्दकारिणी ।
एह्येहि मनसादेवी नागमार्तनमोडस्तुते ।।
भावर्थः( जगतलाई आनन्द दिने, आस्तीक मुनि र नागका माता हे मनसादेवी ! स्वागत छ, स्वागत छ, हजुरलाई कोटी कोटी नमस्कार छ । घस्रेर हिड्ने लामो, विषालु कीरो साँप, लाम्कीरोलाई सर्प भनिन्छ । नागहरुलाई सर्प पनि भनिन्छ । सर्प धेरै प्रकारका हुन्छन् । ती मध्य करेट र गोगन साप विषालु हुन्छन् । यी सापको टोकाइबाट हामी बच्नु पर्छ । यिनलाई हामीले नछोए नचलाए र नगिज्याएसम्म हामीलाई हानी गर्दैनन् । आफ्नो ज्यान बचाउन यिनीहरुले हामी सँग प्रतिकार गर्छन, अन्यथा गर्दैनन् । सर्प हाम्रा लागि उपयोगी जीवाणु हो । यसले हाम्रा कुषकहरुको अन्नवाली वा शब्जीमा लागेर हानी पु¥याउने मुसा, किरा, फट्याङ्ग्रालाई खाएर हाम्रो अन्नबाली फलफुल तरकारीको रक्षा गर्छन् । तराईवासीहरुले सर्पलाई सघाएर नचाएर नाटक देखाएर आफ्नो जीविकोपार्जन गरेका उदाहरणहरु पनि प्रसस्त पाइन्छन् ।
हाम्रा आराध्यदेव देवादिदेव भगवान शिवको गलामा नागको माला अत्यन्त शोभायमान देखिन्छ । देवतार राक्षसहरुले समुन्द्र मन्थन गर्दा निस्केको महादेवले निलेको साहै कडा विष, हलाहल कालकुट विष उहाँको घाँटीमा रहेको र यसको जलन पिडाबाट संरक्षण लिन भगवान शिवले नागको माला लगाउनु भएको हो । यो विषको कारणले भगवान शिवको घाँटी निलो भएकोले उहाँका नाम निलकण्ठ पनि रहन गएको हो । नागका पासमा अत्यन्त महत्वपुर्ण मणी हुन्छ भन्ने किम्वदन्ती छ । यस्तो मणि नागहरुले संरक्षण गरेर राखेका हुन्छन् । त्यसैले यसलाई नागमणी पनि भनिन्छ ।
सर्प नागको टोकाईबाट बच्न सक्नुपर्छ । यो बाहेक सर्पबाट मानिसलाई अरु हानी छैन, फाइदै फाइदा छ । त्यसैले हामी नागको पूजा गर्छौ त्यो पनि सधै होइन वर्षको एक पटक नागपञ्चमीका दिनमा नागलाई प्रसन्न पारेर आफूमा आइपर्ने विध्नबाधा हटाउन पवित्र नदी तालमा गए स्नान गरी, शुद्ध वस्त्र लगाएर चोखो जलले नागको मन्दिर मूर्तिमा गाईको गोवर गहुत चोखो जलले पोते र चन्दन अक्षता, अविरकेशरी, रागविसुदी, फूल धुप, दिप नैवेधे, जनै सुपारी, कपास, लावा, रोटी आदि चढाएर विधि पुर्वक माथि लेखिएका श्लोकहरु पाठ गरेर नाग थान र घरका मूल ढोकाहरुमा पुजा गर्ने हाम्रो सांस्कृतिक प्रचलन रहि आएको छ  । यसलाई निरन्तरता दिन आ(आफ्नो गक्ष अनुसार नागको पुजा गर्ने प्रचलन रहेकोले यसलाई निरन्तरता दिउ यसैमा हाम्रो कल्ल्याण छ, शुभम ।

जनआन्दोलन सपना हो कि विपना ?

शिव प्रसाद गौतम
जनताले पाउनु पर्ने मौलिक अधिकार, संविधानमा उल्लेख भए अनुसार सर्वसाधरण जनताले पाउने अधिकार जनअधिकार हो । जनसमुदायले व्यक्त गर्ने इच्छा, जनसमुहको चाहना जनआकाङ्क्षा हो । राज्यका तर्फबाट यी कुरा प्राप्त नभएका अवस्थामा राज्य संचालन गर्ने सरकारका विरुद्धमा जनताले आफ्ना मौलिक अधिकारको प्राप्तीका लागि जनताद्वारा आन्दोलन वा अभियान, जनक्रान्ति चलाइन्छ । यो आन्दोलनलाई जनआन्दोलन भनिन्छ ।
जनआन्दोलन २०६२÷२०६३ मा जनताले के सपना देखेका थिए र परिणाम के भइरहेछ, त्यसको अनुभव जनताले गरिरहेका छन् । सपना, सुसुप्ति र जाग्रतमा देखिन्छन् । जनताले आफ्ना हक हित र अधिकार तथा देशको स्वतन्त्रता, प्रगति आदिका निम्ति संगठित रुपमा चलाएको क्रान्ति, जनआन्दोलनको उपलब्धि राजनेताहरुलाई मात्र भएको छ । जनताका लागि हात्ति आयो–हात्ति आयो फुस्सा भएको छ ।
किसान, मजदुर आदि श्रमजीवीवर्गको संयुक्त अधिनायकत्वमा वा सर्वहारवर्गद्वारा चल्ने शासन व्यवस्था जनगणतन्त्रात्म शासन चल्ला र आनन्द पाइएला भन्ने सपना देखेका जनताको सपना साकार हुन सकेको छ्रैन । जनताका हक र हितका निम्ति लड्ने नेता, जनताका पक्षको अगुवा जननेता अहिले नेपालमा रहेनछन् । आफ्नो र आफ्नो दलको मात्र हित गर्ने नेता भने सबै राजनीतिक दलमा छन् ।
निदाएको बेला मानसिक रुपमा देखिने दुश्य वा घटना र मनमनै खेल्ने कुरा, स्वप्न, रमाइलो भविष्यको आशा वा कल्पना, उदेक लाग्दो कुरो वा मनको लहड सपना हो । विपना भनेको जाग्रत अवस्थामा वा दिनमा आफ्नो भलो तथा प्रगतिका कल्पना गर्नु हो । सपना झुट्टा हो विपना सत्य हो । तर नेपालको परिप्रेक्षमा यी दुवै झुट्टा सावित भएका छन् । नेताहरुलाई जनताले जनआन्दोलन गरेर शामन्ति शासन प्रणालिको अन्त्य गरेर, लोकतनत्र बहाली गराएर हामीलाई सत्तामा पु¥याएका हुन भन्ने हेक्का छैन । जनतालाई गास, बास, कपास, शिक्षा र स्वास्थ जस्ता जिवनका न्यूनतम आवश्यकता पुरा गर्ने छौ भनेर बाँचा बाधेका नेता जनतालाई रुवाएर आफू भोज गरिहेका छन् । आखिर “जुन जोगी आए पनि कानै चिरेका” भन्ने उखान जनजिब्रो बाट आएका छन् ।
वर्तमान परिप्रेक्षमा जनताले २०६२÷६३ को जनआन्दोलन सपना हो कि विपना भनेर तर्क गरिरहेका छन् । विपना हो भनौ भने देशमा शान्ति छैन, संविधान छैन । सपना भनौ भने जनआन्दोलन भएकै हो । पन्ध्र हजार जनता शहिद भएकै हुन् ।
शहिद, शहिदका परिवार र सर्व साधारण जनताको लागि केही हुन सकेको छैन । मर्ने जनता, भोज गर्ने नेता भएको छ । शासकहर भाषणमा मानवाधिकारका कुरा गर्छन, शासन चलाउदा हिजोका समन्तिका भन्दा क्रुर शासन चलाई रहेका छन् ।
हाम्रो देशमा शासन गर्नेहरुले नै मोज गर्ने परम्परा कायम भएको जनताको ठम्याइ छ । जाति, वर्ग, लिङ्ग तथा धनी(गरिव आदिको भेदभाव नरही नागरिकले मौलिक रुपमा पाउने बराबरीको अधिकार समान हक राज्यको तर्फबाट प्राप्त गर्न सकेका छैनौ । यस्तो हुनुको मूल कारण नेताहरुमा पारस्परिक समझदारी नहुनु हो । मेरो गोरुको बाह्रै टक्का भन्नेहरुले गर्दा देश र जनताले दुःख भोग्नु परेको छ । जनताका सपना साकार गराउने लक्षण नेताहरुले देखाएका छ्रैनन् ।

नागरिकतामा भूराजनीतिक संवेदनशीलता !

– अमित ढकाल
आजको युग चेतले भन्छ(महिला र पुरूष बराबर हुन् । राज्यका दृष्टिमा यो समानताको सिद्धान्त झन् अक्षुण हुनुपर्छ। व्यक्तिले स्वतन्त्रता र सम्मानपूर्वक आफूले चाहे अनुसारको जीवन बाँच्न पाउने हक हाम्रो संविधानले दिएको छ। व्यक्तिगत स्वतन्त्रता एउटा खुल्ला र उदार समाजको मानक नै हो। तर राष्ट्र व्यक्तिभन्दा माथि हुन्छ, व्यक्तिहरूको समजोडभन्दा माथि हुन्छ। त्यसैले राष्ट्रलाई संकट परेको बेला व्यक्तिले उपयोग गरेका कतिपय मौलिकहकहरू खारेज हुन्छन् ।
संविधानमा गरिने नागरिकताको व्यवस्थामा यी तिनै विषयको हेक्का राखिनुपर्छ। अहिलेको मस्यौदा संविधानमा यी तीन विषय( महिलाको आत्मसम्मान र समानताको हक, व्यक्तिको निजी स्वतन्त्रताको हक र राष्ट्रको भूराजनीतिक संवेदनशीलता कति सन्तुलित ढंगले प्रतिविम्वित भएका छन् ?
मस्यौदामा राखिएका नागरिकताको प्रावधानमा तीन प्रमुख समस्या छन् ।
पहिलो, संविधानको धारा १२ मा वंशजको आधारमा नागरिकताको प्रावधानको व्याख्या गरिएको छ। यो धाराको १(ख) ले भन्छ, ‘कुनै व्यक्तिको नेपालमा जन्म हुँदाका बखत निजको आमा वा बावु मध्ये एक नेपाली नागरिक रहेकोमा नगारिकता प्राप्त गर्दाका बखत निजका आमा र बावु दुवै नेपालका नागरिक रहेछन् भने त्यस्तो व्यक्ति’ ले वंशजको आधारमा नागरिकता पाउने छ।
यो व्यवस्थाले नेपाली महिला वा पुरूषले विदेशी नागरिक बिहे गरेपनि उनीहरूका सन्तानले वंशजका आधारमा नागरिकता पाउने ढोका खुल्ला राखेको छ। तर यो प्रावधनले नेपाली महिलालाई विभेद गर्छ। नेपाली पुरूषले बिहे गरेकी महिलाले तुरुन्तै नागरिकता पाउने व्यवस्था छ। तर नेपाली महिलासँग बिहे गरेका पुरूषले नागरिकताका लागि १५ वर्षसम्म कुर्नुपर्छ।
१५ वर्ष पुग्नु अघि नै दम्पतिको सम्वन्ध बिच्छेद भयो भने वा लोग्नेले छोडेर आफ्नै मुलुक फर्क्यो भने वा लोग्नेको मृत्यु भयो भने त्यस्तो सन्तानले वंशजको आधारमा नागरिकता पाउन सक्दैन। यो कस्तो व्यवस्था भयो भने, कुनै नाबालक नेपाली नागरिक आमाको सन्तान हो, तर उसको विदेशी बाबुले आमा र बच्चालाई धोका दिएर बिचमै आफ्नो देश फर्क्यो वा उसको मृत्यु भयो भने त्यसको सजाय ठूलो भएर त्यो नावालकले व्योहोर्नु र्पयो। सजाय पनि कति ठूलो भने, अब ऊ यो देशको राष्ट्रपति वा प्रधानमन्त्री बन्न नालायक हुने भयो !
वंशजको आधारमा मात्रै नागरिकता पाउने व्यक्ति राज्यका प्रमुख पद, राष्ट्रपति, प्रधानमन्त्री बन्न पाउने प्रावधान जायज छ। तर हामीले नेपाली नागरिक आमाबाट जन्मिने सन्तानले पाउने वंशज र अंगिकृत नागरिकतामाथि जस्तो विभेद गरेका छौँ त्यसका पछाडि कुनै तर्क र विवेक छैन। अन्यायपूर्ण छ ।
यहाँ भूराजनीतिक संवेदनशीलताको कुनै कुरै छैन। विवाहका आधारमा हामी विदेशी पुरूषलाई नागरिकता दिन तयार नै छौं। उसले बिचैमा परिवार छोडेर आफ्नै देश फर्कि सक्यो यो वा ऊ बित्यो भने, नेपाली आमाको सन्तानले भविष्यमा गएर वंशजको आधारमा नागरिकता पाउँदा हाम्रो राष्ट्रिय हित खतरामा पर्ने, त्यहि सन्तानले अंगिकृत नागरिकता लिँदा त्यो खतरा टर्ने, त्यस्तो पनि कहीँ हुन्छ ?
नेताहरु बुझेर वा नबुझेर अमेरिकामा पनि नागरिकताको सवालमा यस्तो प्रावधान छ, उस्तो प्रावधान छ भन्छन्। धारा १२ को १(ख) जस्तो प्रावधान अमेरिकामा भएको भए बाराक ओवामा अहिले अमेरिकी राष्ट्रपति बन्ने थिएनन् भन्ने हेक्का राख्दैनन्। ओवामाका केन्याली मुलका बाबु बिहे भएको तीन वर्ष पछि नै आफ्नी श्रीमतीसँग सम्वन्ध बिच्छेद गरी केन्या फर्केका थिए। तर अमेरिकाले आफ्नो नागरिकबाट आफ्नै भूमिमा जन्मेको सन्तानलाई हाम्रो जस्तो विभेद गर्दैंन। बिरलै आधुनिक, लोकतान्त्रिक मुलुकले त्यसो गर्छन्।
दोस्रो समस्या संविधानको उपधारा १२(४) मा गरिएको व्यवस्थामा छ। यो उपधाराले भन्छ, ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान नभएको व्यक्तिलाई वंशजको आधारमा नागरिकता प्रधान गरिनेछ।’
‘बाबुको पहिचान नभएको व्यक्ति’ भनि गरिएको व्यवस्था धेरै हिसावले त्रुटिपूर्ण छ। यो उपधाराले अहिले नेपाली समाजमा एकल आमाका सन्तानले भोग्नुपरेका निम्न समस्याको समाधान गर्दैन।
१. जन्मिदाँको बखतमा बाबुको पहिचान छ, तर परिवारसँगको झगडाका कारण उसले छोराछोरीलाई नागरिकता दिन चाहदैन भने त्यस्तो समस्याको हल यो धाराले गर्दैन, अरू कुनै पनि धाराले गर्दैन। एकल महिला र तिनका सन्तानले त्यस्तो समस्या भोगेका कयैन उदाहरण बाहिर आइसकेका छन्। बाबुले छोडेर गएको वा बाबुले सहयोग नगरेका कारण आफूहरूले नागरिकता नपाएको र राज्यविहिन बन्नु परेको हृदयविदारक दृष्टान्तहरु हजारौ वयष्क युवारयुवतीले बाहिर ल्याएका छन्। यति संवेदनशील विषयको सम्बोधन नगरी अहिलेको मस्यौदामा गरिएको नागरिकताको प्रावधान कसरी पूर्ण हुन्छ?
२. भोलि यो मुलुकमा कुनै महिलाले म बिहे नगरी गर्भधारण गर्छु र छोराछोरी जन्माउँछु भनिन् भने कानुनले त्यसलाई बर्जित गर्दैन। त्यस्तो कानुन हाम्रोमा छैन। संविधानमा हामीले व्यवस्था गरेको स्वतन्त्रताको हक को धारा २२(१) ले भन्छ, ‘कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयत्तिक स्वतन्त्रताबाट बन्चित गरिने छैन।’ धारा २१(१)ले भन्छ, ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्ने हक छ।’
भनेपछि, कानुनले बर्जित नगरेको र संविधानले प्रदान गरेको स्वतन्त्रताको हकको उपयोग गरेर कुनै नेपाली महिलाले बिहे नगरी बच्चा जन्माउन सक्ने भईन्। अहिलेको नागरिकताको प्रावधानले त्यस्तो बच्चालाई ऊ वयष्क भएपछि सम्मानपूर्वक नागरिक बन्ने बाटो भने दिँदैन।
हाम्रो समाजमा बहुसंख्यकले मान्ने रीतिरिवाज विहे पछि मात्र बच्चा जन्माउने नै हो। म पनि त्यो नै राम्रो हो भन्ने ठान्छु। तर मलाई के ठीक लाग्छ, वा कुन नेतालाई के ठीक लाग्छ भन्ने कुराले नागरिकको वैयत्तिक स्वतन्त्रता सिमित गरिनु हुन्न। बहुसंख्यकले जायज नठर्हयाएको तर कानुनले बर्जित नगरेको कुरा कुनै व्यक्तिले स्वतन्त्रतापूर्वक उपयोग गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्नले नै कुनै समाजमा वैयत्तिक स्वतन्त्रताको सीमा कति छ भन्ने निर्धा्रित गर्छ।
हाम्रो नेपाली समाजको मौलिकता जोगाउने चिन्ता धेरैलाई छ। तीन हजार वर्ष पहिलेको उत्तरवैदिककालिन समाज मौलिक नेपाली समाज हो कि, १०० वर्ष वा ५० वर्ष अघिको समाज मौलिक नेपाली समाज हो कि? या आजको वा ५० वर्ष पछिको समाज मौलिक नेपाली समाज हो? समाज गतिशील छ, यसका मूल्य मान्यता निरन्तर परिवर्तन भैरहनछन्। आउने पिँढीले यसलाई अगाडि नै लैजान्छन्, नेपाली समाज बदलिँदै आजको अवस्थामा आइपुगेको पनि त्यसरी नै हो। त्यसैले हिजोको जडताबाट आज र आउने समाजलाई हेरिनु साँघुरो दृष्टि हुन्छ। संविधानले बदलिँदो समाज र नागरिकका बदलिँदा आकंक्षालाई समेट्न प्रयास गर्ने हो। अमेरिकामा भर्खरै मात्र सर्वोच्व अदालतले समलिंगी विवाहलाई मुलुकभर मान्यता दियो। हाम्रो अदालतले त्यो भन्दा धेरै अघि समलिंगी बिवाहलाई मान्यता र तेस्रो लिंगीको पहिचान स्वीकार गरेको हो। महिलाका नामबाट नागरिकता दिनु भनेको हो। न्यायधीश बलराम केसीको इजलासले ति आदेश दिएको थियो।
यो लेख लेखिरहँदा म मेरा दुई जना महिला मित्रलाई सम्झिरहेको छु। एकजनाले भारतीय नागरिकसँग बिहे गरेकी छन्, उनी आफ्नी छोरीसँग नेपालमै बस्छिन्, उनका श्रीमान भारतमै बस्छन्। मलाई जहाँसम्म लाग्छ, उनी भारत जान चाहन्नन्। आफ्नी छोरी पनि आफूसँगै राखेर हुर्काउन चाहन्छिन्। नेपाली नागरिक बनाउन चाहन्छिन्। उनको चाहना यो संविधानले पुरा गर्दैन।
अर्की साथी अविवाहित आमा हुन्। उनकी छोरीको पिताको पहिचान उनलाई पक्कै छ, भन्न चाहन्नन्। ठूली भएपछि छोरीलाई भन्लिन् वा नभन्लिन्। तर माया त मैले मेरी छोरीलाई गरे भन्दा कम उनले आफ्नी छोरीलाई के गर्दी हुन्! ठूली भएपछि मैले मेरी छोरीलाई वंशजका आधारमा नागरिकता दिलाउन सक्छु। उनले सक्दिनन्।
मेरा यी दुवै साथीहरूले उनीहरुका छोरीलाई आफ्नो नामबाट नागरिकता दिलाउन नसकुन्जेल मेरा लागि यो संविधान त्रुटिपूर्ण रहिरहनेछ।
संविधानको मस्यौदा निर्माण र अहिले संसोधनमा ठुलो जिम्मेवारी निभाइरहेका एमाले नेता भिम रावलले कान्तिपूर दैनिकमा लामो लेख लेखेर मस्यौदामा नागरिकताको प्रावधानको बचाऊ गरेका छन्। उनी लगायत मस्यौदाकारहरुलाई हेक्का रहोस्।
बेकसुर एक जना नागरिक पनि राज्यविहिन हुने अवस्था रहुन्जेल संविधानमा गरिएको नागरिकताको प्रावधान पूर्ण हुनेछैन। संविधानको स्थापित मान्यता त्यही हो ।
धारा १२(४) मा ‘बाबुको पहिचान नभएको व्यक्ति’ भनेर सम्बोधन गर्न खोजिएको मुख्यतस् बलात्कारका घटना र देहव्यापार गर्ने महिलाबाट जन्मिने सन्तानलाई हो । महिलालाई यसले दोहोरो रूपमा पीडित बनाउँछ। पहिले बलात्कारको पीडा भोगेकी महिलाले अव आफ्नो सन्तानले नागरिकता पाउने बेलामा पनि सरकारी अधिकारीका अघि बलात्कृत भएको कवुल गर्नुपर्छ। अनि छोरारछोरीले पनि आफ्नी आमाको बलात्कारबाट हामी जन्मिएका रहेछौं भन्ने थाहा पाउनुपर्नेहुन्छ, त्यो पनि सरकारी प्रयोजनका लागि।
कुनै महिला देहव्यापार गर्थिन्। सन्तान जन्मिएपछि उनले अर्कै बाटो रोज्ने निर्णय गरिन्। अब १६ वर्षपछि आफ्नो सन्तानलाई नागरिकता दिलाउन वर्षौं पहिले उनले गरेको देहव्यापारको कवुल गर्नुपर्ने?
हामीले कस्तो संविधान बनाउदैछौं, जसले महिलाको न्युनतम आत्मसम्मान र स्वाभिमानका साथ बाँच्न पाउने हकको उल्लङ्घन गर्छ!
यो विभेद र वंशजको आधारमा नागरिकताको सवालमा देखिएको जटिल प्रावधानलाई एउटै सरल वाक्यबाट सम्बोधन गर्न सकिन्छ( ‘कुनै व्यक्ति नेपालमा जन्मिदाको समयमा उसको आमा वा बाबु एकजना नेपाली नागरिक रहेछ भने वयष्क भएपछि उसले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने हक राख्नेछ।’ यसो गर्दा नागरिकतामा महिलाको समानताको हकको एउटा पाटोको सम्बोधन हुन्छ।
यसरी सरल किसिमले नेपाली आमा वा बाबुका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्दा हाम्रो भूराजनीतिक संवेदनशीलता कहिँ, कतै खलबलिन्न। त्यो चिन्ता यहाँ असान्दर्भिक छ। यो विदेशीलाई नागरिकता दिने विषय होइन, नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने सवाल हो।
तेस्रो समस्या, नेपाली पुरूषले विदेशी महिला बिहे गर्दा र नेपाली महिलाले बिदेशी पुरूष विहे गर्दा देखादेखि विभेद गरिएको छ। नेपाली पुरूषले विदेशी महिला बिहे गर्दा अर्को देशको नागरिकता त्याग्ने प्रक्रिया चालेको अवस्थामा तुरुन्तै नेपालको नागरिकता पाउँछिन, तर नेपाली महिलाले बिदेशी पुरूष बिहे गरे १५ वर्ष पर्खिनुपर्छ।
यसरी बिहे गरेर आउने व्यक्तिले अंगिकृत नागरिकता पाउँछन्। संसारका बहुसंख्यक देशमा बिहे गरेर आउने अर्को देशका नागरिकलाई अंगिकृत नागरिकता नै दिईन्छ। त्यसैले त्यो प्रावधान ठीक छ। त्यस्ता महिला वा पुरूषले बिहे गरेर आएको मुलुकको नागरिकता लिन केहि वर्ष पर्खनु पर्ने प्रचलन छ, त्यो पनि ठीकै छ। तर विरलै देश होलान् जहाँ महिलालाई एउटा पुरूषलाई अर्को नियम लगाइन्छ।
नेपाली महिलासँग बिहे गरेर आउने विदेशी पुरूषलाई नागरिकता दिन किन १५ वर्ष लगाउने?
धेरै नेताले नेपाल, भारत र चीन दूई ठूला मुलुको बिचमा छ, त्यसैले नागरिकताको विषयमा हाम्रो भूराजनीतिक संवेदनशीलता छ भन्ने गर्छन्। उनीहरुको तर्क छ( नेपाल र भारत बीच खुल्ला सीमाना छ, ‘भोलि ५० लाख मानिस सीमा पार गरेर नेपाल आए भने’?
खुल्ला सीमाना पार गरेर काम गर्न आउने भारतीय र नेपाली महिलासँग बिहे गेरेर घरजम गर्ने विदेशी पुरूषको नागरिकताको सवाललाई एकैठाम मिसमास गर्नुहुन्न। सिद्दान्ततस् पचास लाख व्यक्ति भारतबाट रोजगारीका लागि नेपाल आउन सम्भव छ, त्यसमा कुनै कानुनी बाधा छैन। नेपाल(भारत बीचको सन्धीले दुई देशका नागारिकलाई अर्को देशमा गएर काम गर्न, बस्न छुट दिन्छ । तर आजको वास्तविकता के हो भने भारतबाट नेपाल आएर काम गर्नेभन्दा नेपालबाट काम गर्न भारत जानेको संख्या धेरै छ।
तर नेपाली नागरिकसँग बिहेपछि नागरिकता दिने विषय अलग हो। ५० लाखले सीमा पार गरेर रोजगारीका लागि नेपाल आउने बित्तिकै उनीहरुलाई नागरिकता दिनुपर्दैन। उनीहरू नागरिकताका लागि लायक हुन पहिले ५० लाख नेपाली महिला उनीहरूसँग बिहे गर्न तयार हुनुर्पयो!
फेरि नेपाल–भारतको विवाह संस्कृति के हो भने, विहे गरेपछि महिला नै पुरूषको घर जान्छन्। त्यस अर्थमा बिहे गरेर भारतीय पुरूष नेपाल आउनेभन्दा, बिहे गरेर धेरै भारतीय महिला नै नेपाल आउने हो।
विदेशीसँग बिहे पछिको नागरिकता खुकुलो गर्दा समस्यापर्छ भन्नेतर्क मान्ने हो भने त नेपाली महिलासँग बिहे गर्ने पुरूषलाई होइन, नेपाली पुरूषसँग बिहे गर्ने महिलालाई पो कडाइ गर्नुर्पयो!
तर यहाँ त्यसो भएको छैन, उल्टो भएको छ। विदेशी महिला बिहे गर्ने पुरूषले छुट पाएको छ, विदेशी पुरूष विहे गर्ने महिलालाई दण्डित गरिएको छ।
यसमा भूराजनीतिक संवेदनशीलता केहि छैन, पुरूष दृष्टिको दोष छ। त्यसैले नेपाली नागरीकसँग बिहे गरेर आउने विदेशी पुरूष र महिलालाई समान व्यवस्था गरिनुपर्छ। भारतमा भारतीय नागरीकसँग बिहे गरेर आउने विदेशीले अंगिकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्ने व्यवस्था छ। हामीले पनि महिला वा पुरूष दुवैकालागि सात वा पाँच वर्ष कायम गर्न सक्छौं।
नेताहरू नागरिकताको मुद्दालाई कतिसम्म पुरूषको चस्माबाट हेर्छन् भन्ने उनीहरूका भनाईमा व्यक्त हुन्छ। कतिपय नेताले ‘महिलाभन्दा ज्वाँई, भान्जा–भान्जीको धेरै चिन्ता भयो नागरिकताको सवालमा’ भन्ने टिप्पणी गरेका छन्। पुरूष नेताका लागि ज्वाँई, भान्जा(भान्जी होलान्। तर महिलाका लागि यो श्रीमान र आफ्ना छोरा छोरीको मुद्दा हो। उनीहरू आफ्नो श्रीमान्, छोरा–छोरीको चिन्ता नगरे कसको गरून्?
पुरूष नेताले ज्वाई, भान्जा(भान्जी भन्दै असंवेदनशील टिप्पणी गर्न मिल्ला, त्यो आ(आफ्नो सामाजिक चेतको कुरा भयो। तर राज्यको दृष्टिमा महिला र पुरूष समान नगारिक हुन्। राज्यको नातामा कोहि ज्वाँई, भान्जा(भान्जी पर्दैनन्, त्यसैले राज्य यो मुद्दामा कम संवेदनशील हुन मिल्दैन।
हाम्रो नागरिकताको ‘डिस्कोर्स’ पहिले देखिननै समस्याग्रस्त छ । पछिल्लो पटक २०६२र६३को आन्दोलन पछि मधेसमा फेरि एकपटक नागरिकताको राजनीति भयो ।
मधेसी दलले तराईमा नागरिकताको विकराल समस्या रहेको जिकिर गरे। तीस–चालिस लाख मधेसी विभेदका कारण नागरिकता विहीन रहेको ‘तथ्य’ अघि सारे। पहिलो संविधानसभा अघि नागरिकताको समस्या ‘सदा’का लागि समाधान गर्ने सहमति बन्यो। गाउँ–गाउँमा टोली गएर नागरिकता वितरण गर्ने निर्णय भयो। २०४७ सालपछि नेपालमा १५ वर्ष निरन्तर बसेको प्रमाण र तीनजना नेपाली नागरिकको सिफारीस पेश गर्न सके ‘जोसुकै’ले नागरिकता पाउने सरल व्यवस्था गरियो। एमालेले अन्तिमसम्म विरोध र्गयो। अहिले पनि नागरिकताको प्रावधान पर्याप्त छ र संशोधन गर्नुहुन्न भन्नेमा एमाले सबैभन्दा अडिग छ। त्यो बेला पनि नेपाली राष्ट्र र राष्ट्रियताको एकलौटी चिन्ता लिएर बसेकाहरू कराए(अब मुलुक फिजी बन्ने भयो । उनीहरुले निष्कर्ष निकाले, ‘भारतीयहरूलाई नागरिकता दिने ‘ग्र्यान्ड डिजाइन’ अन्तर्गत भारतले १२ बुँदे सम्झौंता गराएको रहेछ!’ टोली गाउँ–गाउँ गएर नागरिकता वितरण र्गयो।
कति नागरिकता वितरण भए, कसैले तथ्य हेर्ने दुस्ख गरेन। मधेसी नेताहरुले चुनावमा भाषण गरे, ‘नागरिकताको हकबाट बन्चित दसौँ लाख मधेसीले हाम्रा कारण नागरिकता पाए।’
‘राष्ट्रवादी’ हरूले टाउको समाए, ‘४० लाख भारतीयले नागरिकता पाए।’ सीमापारिबाट आएर ४० लाख भारतीयले नागरिकता लिएको कारण संविधानसभा–१ मा मधेसी पार्टीहरुले त्यति धेरै सिट ल्याएको उनीहरूले ठोकुवा गरे।
तथ्य के हो भने, गाउँ–गाउँ खटिएको टोलीमार्फत देशभर जम्मा २६ लाख ७० हजार नागरिकता वितरण गरिएको थियो। त्यो मध्ये २५ लाख नागरिकता वंशजका आधारमा वितरण गरिएको थियो, पहाडमा १३ लाख र तराईमा १२ लाख। बाबुको नागरिकता भएका कारण यी २५ लाखले जहिले पनि नागरिकता लिन सक्थे। गाउँमै टोली आएकोले सुगम भयो, त्यति बेला नै लिए।
जम्मा एक लाख ७० हजारले मात्रै १५ वर्ष नेपालमै बसेको प्रमाण र तीन नेपाली नागरिकको सिफारीस जुटाएर नागरिकता लिएका थिए। ति सबै भारतीय थिएनन् । नेपालमै सदियौंदेखि बसेका तर नागरिकताको कहिले पनि दरकार नपरेका, स्थायी बसोवासको प्रमाण जुटाउन नसक्ने धेरै गरिब, सीमान्तकृत दलितले पनि गाउँमै टोली आएको अवसर पारेर बसोबासका आधारमा नागरिकता लिए। हुलमुलमा सीमापारबाट आएर पनि कतिले नागरिकता लिए होलान्। कतिले लिए यकिन छैन।
नागरिकताको समस्या मधेसी नेताहरुले भनेजस्तो विकराल पनि होइन रहेछ । ‘राष्ट्रवादी’ ले मुलुक नै फिजीकरण हुने चिन्ता गरेजस्तो पनि होइन रहेछ ।
अहिले हामीले गरिरहेको नागरीकताको बहस फरक छ। यो पहिले जस्तो बसोबासका आधारमा नागरिकता दिने विषय होइन। नेपाली महिलासँग विवाह गरेपछि विदेशी पुरूषलाई अंगिकृत नागरिकता दिने प्रसंग हो यो । नागरिकता कानुनलाई थप कडा गरेर विदेशको नागरिकता त्यागेको प्रमाण ल्याएपछि मात्र नेपाली नागरिकता दिने व्यवस्था गर्न सकिन्छ। भारतीयले पहिले त बिहे गरेर नेपालमै बस्न राजी हुने नेपाली नागरिक महिला पाउनुर्पयो, त्यसपछि आफ्नो भारतको नागरिकता त्याग्न तयार हुनुर्पयो। यसले सम्भावित विकृतिलाई रोक्नेछ ।
यति गरेर पनि पुग्दैन भन्ने कसैलाई लाग्छ भने, हामी तथ्यांक राख्न सुरू गरौँ। अर्को केहि वर्षमा कति भारतीय मुलुकका पुरूष नेपाली महिलासँग बिहे गरेर भारतको नागरिकता त्यागेर नेपाल बस्न तयार हुन्छन् गृह मन्त्रालयको तथ्यांकबाट थाहा हुनेछ । साँच्चै यो नागरिकता नीति हाम्रो मुलुकको स्वाधिनताका लागि चुनौतिपूर्ण हुनेरहेछ भने फेरौँला । संविधान ढुंगामा लेखिने र फेर्न नमिल्ने दस्तावेज होईन। तथ्यले देखाइसके पछि फेर्न जो कोहि तयार हुनेछ । महिलाहरुनै तयार हुनेछन् । यो मुलुकको स्वाधीनता र स्वतन्त्रता महिलालाई कम प्यारो छैन। पुरुष एक्लैले यसको ठेक्का नलिऊँ ।
तथ्यले प्रमाणित नगरेको कुरालाई अघि सारेर केहि पुरुष नेताको ‘मनको बाघ’का कारण महिलामाथि अन्याय नगरौं। जुन मुलुकले आधा जनसंख्या ओगटने महिलाको संवेदनशीलता सम्बोधन गर्न सक्दैन, त्यो मुलुक न आफ्नो भूराजनीतिक संवेदनशीलताको सम्बोधन गर्न लायक रहन्छ, न सक्छ नै! बरू महिलामाथि विभेद र अन्याय गर्ने मुलुकका रुपमा उसको अन्तर्रा्ष्ट्रिय छवी कलंकित हुनेछ। हामी त्यो कलंको भागीदार नबनौँ ! सभारः सेतोपाटी डटकम