Samadhan National Daily

बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

समाधान सम्वाददाता
पोखरा, २६ असोज ।
नेपालीहरुको महान् चाड बडा दशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल बिन्ध्यावासिनी मन्दिरमा मंगलबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सुरु भएको नौ दिनसम्म चल्ने महोत्सबमा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्नुका साथै धर्म र संस्कृतिको संरक्षण गर्ने मुख्य उद्धेश्य रहेको छ । महोत्सब सुरु हुनुअघि मंगलबार विभिन्न संस्थाहरुको संयुक्त सहभागितामा जलघडासहितको बृहत शोभायात्रा निकालिएको थियो ।
विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा मोहरीयाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल हँुदै पुन मन्दिरमा पुगेर सम्पन्न भएको थियो । शोभायात्रामा नबदुर्गाको नौ रुपको झाँकी, एक सय आठ कलश, बिन्ध्याबासिनी मन्दिरको झाँकी, बिभिन्न भजन समुह, जातीय भेषभुषा, सांस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
महोत्सब अन्तर्गत महानवमीको दिनसम्म दैनिक भागबत कथा बाचन हुने बिन्ध्याबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रबद्र्धनको लागि बिन्ध्याबासिनी धार्मिक क्षेत्र बिकास समितिले प्रत्येक बर्ष नवदूर्गा महोत्सब गर्दै आएको छ । महोत्सब अबधिभर करिब डेढ लाख दर्शनार्थी भित्र्याउने लक्ष्य राखिएको छ ।
नबरात्रीभर बिहान साढे ४ बजेदेखि साझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुल्ला राखिने छ । दर्शनार्थीको चापलाई ध्यान दिदै मन्दिर परिसरमा बिशेष सुरक्षा प्रबन्ध गरिएकोे र महिला र पुरुषको लागि छुट्टा छुट्टै लाईनमा दर्शनको ब्यबस्था मिलाईएको समितिले जनाएको छ ।
यो बर्षदेखि मन्दिरमा दर्शनको लागि नयाँ प्रदक्षिणपथ समेत निर्माण भएको छ । संरचना निर्माण भएपनि सजावटको काम बाकी रहेको प्रदक्षिणपथ मंगलवारदेखि प्रयोगमा ल्याईएको छ ।
३ सय वर्षको इतिहास बोकेको बिन्ध्यबासिनी मन्दिरमा कास्कीसँगै यस आसपासका जिल्लाहरु तनहँु, लमजुङ, स्याङ्जा, पर्बत लगायत काठमाण्डौ तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।
बिन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सुरु भएको महोत्सब नवरात्रीको नौ दिन सम्म चल्नेछ । महोत्सब मंगलवार घटस्थापनाको दिन बृहत शोभायात्रा निकालिएको थियो ।

No Comments on बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

Drop us a message