Samadhan National Daily

चीनबाट इन्धन ल्याउन अनुमति पाएनौं ः निगम

समाधान सम्वाददाता
पोखरा, १६ असोज ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने अनुमति नदिँदा आपूर्ति व्यवस्था असहज भएको बताएका छन् ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएशनको २३ औं साधारणसभालाई पोखरामा सम्बोधन गर्दै, खड्काले अघोषित नाकाबन्दी लगत्तै आफुले चीनबाट पेट्रोलियम पदार्थको आयात गर्नुपर्ने प्रस्ताव गर्दा सरकारले स्विकृती नदिएको बताए ।
‘भारतको मात्रै भरपर्दा आपूर्ति असहज हुने भन्दै चीनबाट आपूर्ति गर्न सरकारसँग अनुमति माग्दा पाइएन’ उनले भने, ‘त्यसको परिणाम अहिले भोग्नुपरेको छ ।’ निगमले करिब चारदशकदेखि भारतीय आयल कर्पोरेशनसँग कारोबार गर्दै आएपनि बारम्बार असहज अवस्था सिर्जना हुँदै आएको खड्काले उल्लेख गरे । ‘व्यापार जहाँबाट सहज हुन्छ त्यहीबाट गर्नुपर्छ’ उनले भने, ‘संकट पारेर तेल नदिनेसँग व्यापार गरिरहनुपर्छ भन्ने छैन । अव विकल्प सोच्नुपर्छ ।’ भारतीय आयल कर्पोरेशनसँगको सम्झौताको विकल्प खोज्नुपर्नेमा उनले जोड दिए ।
चीनसँगको विकल्पलाई खुल्ला राख्नुपर्नेमा जोड दिदै उनले एक–दुई रुपैयाँ महंगो भएपनि उपभोक्ताले सास्ती खेप्नुनपर्ने बताए । आयल निगमले भण्डारण क्षमता वृद्धि नगर्दा समस्या भएको उनले । ‘भण्डारण गर्न खोज्यो विभिन्न प्राविधिक समस्या आइपर्छ । आफै फसिन्छ कि भन्ने डर छ, खड्काले भने, ‘निगमको कर्मचारीतन्त्रपनि धेरै पुरानो भयो ।’
पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधानले निगमले भण्डारण क्षमता बृद्धि नगर्दा अहिले अप्ठेरो खेप्नुपरेको बताए । ‘दशबर्षमा लाखौ सवारी साधन थपिए । तर। निगमको भण्डार क्षमता बृद्धि भएन’ उनले भने । अबको लडाई राष्ट्रिय स्वाधिनतासँग पनि जोडिएको उल्लेख गर्दै अध्यक्ष प्रधानले भारतीय आयल कर्पोरेशनको दास बन्न नहुनेमा जोड दिए । उनले पेट्रोलियम पदार्थको खपत कम गर्नको लागि जनचेतनाका कार्यक्रम गनुैपर्ने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले असहज परिस्थितिमा पेट्रोलियम पदार्थको खपत कम गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी राउतले संघसंस्थाका कार्यक्रम, भोजभतेर जस्ता जमघटका कार्यक्रम स्थगित गर्न सुझाए ।

No Comments on चीनबाट इन्धन ल्याउन अनुमति पाएनौं ः निगम

Drop us a message